काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै यसको फाइदा सरकारलाई भएको छ । अघिल्लो वर्ष विकास ऋणपत्रका लागि औसत ८.६४ प्रतिशतसम्म ब्याज तिर्नुपरेको सरकारले यो वर्ष ६.६९ प्रतिशतमै ऋण पाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा औसत ६.६९ प्रतिशतको ब्याजदरमा सरकारले १ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गरेको हो । ऋणपत्रका लागि परेको कूल ३ खर्ब ८७ अर्ब ८६ करोड रुपैयाँ बराबरको बिड (बोलकबोल) मा सामेल भएकाहरू मध्येबाट ‘कट अफ रेट’ का आधारमा उक्त ऋणपत्र बिक्री गरिएको हो । अघिल्लो वर्ष औसत ८.६४ प्रतिशतको ब्याजदरमा सरकारले १ खर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको थियो ।



