नेपालमा पनि मानिसहरूले नगदको कारोबार कम गरेका छन् । नाङ्ले पसलेसम्मले अनलाइन भुक्तानी स्वीकार गरेको देखिन्छ । अर्थतन्त्रलाई नगदरहित बनाउने हो भने केके फाइदा हुन्छन् र के समस्या पर्छ भन्ने विषयमा यस लेखमा चर्चा गरिन्छ ।
अहिले करिब ६ खर्ब रुपैयाँबराबरका नोट चलनचल्तीमा छन् । बैंकमा निक्षेप करिब ६० खर्ब छ । मानिसहरूसँग बचत हुन नोट साथमा हुनु पर्दैन । एउटै नोट धेरै पटक कारोबार हुँदा अर्थतन्त्रमा त्यसको गणना धेरै पटक हुन्छ ।
उदाहरणका लागि एक जनाले बैंकमा १ लाख रुपैयाँ बचत गर्छ । बैंकले त्यसबाट दोस्रो व्यक्तिलाई ९० हजार रुपैयाँ ऋण दिन्छ । ऋणीले त्यो पैसा खर्च गर्छ । जसले त्यो प्राप्त गर्छ, उसले बैंकमा बचत गर्छ । अब बचत रकम १ लाख ९० हजार रुपैयाँ हुन्छ । त्यो ९० हजार रुपैयाँबाट बैंकले पुनः ८१ हजार रुपैयाँ ऋण दिन्छ । एवम् रीतले १० जनासँग कारोबार हुँदा ६ लाख ५१ हजार रुपैयाँ हुन जान्छ । २० जनामा कारोबार भयो भने ८ लाख ७८ हजार पुग्छ ।



