नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार कक्षमा यस वर्ष पुसमा उल्लेख्य शेयर कारोबार भयो। नेप्सेको पुस महिनाको मासिक विवरण अनुसार चालु वर्षको पुसमा ९७ अर्ब तीन करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो।
जुन गत वर्षको सोही अवधिको तुलनामा ६४.८२ प्रतिशत बढी हो। गत वर्ष पुसमा ५८ अर्ब ८७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
पछिल्ला दुई वर्ष यता पुसमा कारोबार रकम बढ्दै आइरहेको छ। चालु वर्षको तुलनामा अघिल्लो वर्ष भन्दा ७.०७ प्रतिशत कारोबार रकम बढेको छ। अघिल्लो वर्ष पुसमा ९० अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर किन/बेच भएका थिए।
गएको दुई वर्ष यता आम सर्वसाधारण लगानीकर्ताले शेयर बजारमा उल्लेख्य पैसा लगाउँदै आएका छन्। तर उनीहरूले बैंक वित्तीय संस्थाको शेयरमा भन्दा अरु नै समूहको शेयरमा लगानी बढाएको नेप्सेले प्रकाशित गरेको मासिक विवरणले पुष्टि गर्छ। कारोबार रकमलाई प्रतिशतको आधारमा गणना गर्दा यस वर्षको पुसमा वाणिज्य बैंकको शेयर कारोबार २७.२७ प्रतिशतले घटेको छ। यस वर्ष पुसमा वाणिज्य बैंकको ६ अर्ब ८० करोड रुपैयाँको शेयर किनबेच भयो। गत वर्ष सोही अवधिमा ९ अर्ब ३५ करोडको शेयर किनबेच भएका थिए। अझै यो वर्ष भन्दा पनि बढी अघिल्लो वर्ष शेयर किनबेच अझै बढी घटेको थियो। अघिल्लो पुसमा १६ अर्ब ४१ करोडको कारोबार भएको थियो। त्यसको तुलनामा गत वर्ष कारोबार रकम ४२.९९ प्रतिशतले घटेको थियो।



