विश्वको अग्लो भूभाग सगरमाथा रहेको, एसियाका तारा गौतम बुद्धले जन्म लिएको देश हो— नेपाल । जलस्रोतमा विश्वको दोस्रो स्थानमा रहनुका साथै प्राकृतिक स्रोत–साधनमा धनी मानिन्छ । विश्वको तेस्रो ठूलो मुलुक चीन र विश्वको सातौं ठूलो मुलुक भारतबीचमा अवस्थित छ । पूर्व, पश्चिम र दक्षिणमा भारत तथा उत्तरमा चीनसँग सिमाना जोडिएको छ । हिमाल, पहाड र तराई सबै प्रकारका वातावरणको अनुभव गर्न सकिने मुलुकका रूपमा नेपाललाई लिइन्छ । प्राकृतिक स्रोत–साधनबाट सम्पन्न वास्तवमा प्राकृतिक सौन्दर्यतामा विश्वकै धनी मुलुक मानिन्छ ।
अर्थतन्त्रलाई दिगो र बलियो बनाउने कार्य मुलुकमा सञ्चालित आर्थिक क्रियाकलापहरूले गरिरहेका हुन्छन् । आर्थिक क्रियाकलाप हरेक मानिसले आफ्नो जीविकोपार्जनका लागि गरिने कार्य हो । यो नितान्त आय सृजना गर्ने कार्यसँग सम्बन्धित रहेको हुन्छ । आर्थिक क्रियाकलापमा आएको कमीले अर्थतन्त्र कमजोर बन्न पुग्छ । कमजोर अर्थतन्त्रलाई धान्न सरकार आन्तरिक वा बाह्य ऋण लिन बाध्य हुन्छ । अर्थतन्त्रका आधारभूत एकाइहरूमा लगानी गर्नका लागि विभिन्न ऋण, अनुदान स्विकारियो, तर ती सबै बालुवामा पानी खन्याएसरह बने ।



