काठमाडौँ — ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले ‘कसैले बैंक भौचर भरिदिए पनि’ आफ्नो खातामा रकम जम्मा नभएको दाबी गरेका छन् । तर उनले १५ प्रतिशत सेयर बेच्दा गितेन्द्रबाबु (जीबी) राईसँग १ करोड ८० लाख रुपैयाँ लिएको हस्ताक्षर र ल्याप्चेसहितको कागज कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको भेटिएको छ ।
लामिछानेले गरेको कागजमा लेखिएको छ, ‘जम्मा १ लाख ८० हजार थान सेयरबापतको रकम रु. १,८०,००,००० (अक्षरुपि एक करोड असी लाख मात्र) बुझिलिई तपाईं यसै प्रालिका सेयरधनी दीपहरि राईका छोरा ओखलढुंगा जिल्ला सुनकोशी गा.पा.नं. १ बस्ने गितेन्द्रबाबु राईलाई सञ्चालक समितिको सहमतिको मञ्जुरीले उल्लेखित सेयर बिक्री गरिदिएको छु ।’


