काठमाडौँ — ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले न कुनै सेयर सित्तै पाएका थिए, न त्यसै छाडेका थिए । कम्पनी रजिस्ट्रारको कार्यालयको अभिलेख र बैंकिङ कारोबार विवरण भन्छन्– सहकारीको पैसा लिएर सेयर पाएका थिए, छाड्दा १ करोड ८० लाख खातामा लिएका थिए ।
कान्तिपुरले सहकारीका अभिलेख तथा प्रतिवेदन मात्र होइन, गोर्खा मिडिया नेटवर्कका नाममा भएका बैंकिङ कारोबार, कम्पनी रजिस्ट्रारको कार्यालयका दस्ताबेज पनि प्राप्त गरेको छ, यी विवरणअनुसार लामिछानेले गोर्खा मिडियामा स्वेट सेयर (पसिनाको हिस्सा) पाएकै थिएनन्, बरु सर्वसाधारणले पसिनाको कमाइबाट सहकारीमा जम्मा गरेको बचत उठाएर गोर्खा मिडियामा सेयर लिएका थिए र जाने बेलामा सेयर बेचेबापत आएको रकम खातामा सारेका थिए ।


