झापा इनर्जीले झापाको शिवसताक्षी नगरपालिका–४ सालमारामा निर्माण गरेको सौर्य ऊर्जा परियोजनाले १० मेगावाटको विद्युत् उत्पादन सुरु गरेको छ । सोलार प्यानलमार्फत फुलफेजमा उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेसनमा जोडिएको छ ।
यहाँबाट उत्पादित बिजुलीको नमूना परीक्षण सकिएर निरन्तर उत्पादन सुरु भइसकेको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताए । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको विद्युत् उत्पादन गर्न सक्नु कोशी प्रदेशका लागि गौरवको विषय भएको उनको भनाइ छ । चार वर्षअघि सुरु भएको परियोजना रु ८० करोडको लगानीमा २१ बिघा जमिनमा निर्माण गरिएको छ ।


