कर्जा नउठ्दा बैंकहरुलाई खराब कर्जा नियन्त्रण गर्न समस्या परेको छ। वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासकाे वित्तीय विवरण अनुसार अधिकाँश बैंकको खराब कर्जा उच्च देखिएको छ। अहिले खराब कर्जा बैंकहरुको टाउको दुखाइको विषय बनेको छ।
पुस मसान्तसम्ममा ९ वटा बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा धेरै देखिएको छ। पहिलो त्रैमासमा ६ वटाम बैंकको मात्रै खराब कर्जा ४ प्रतिशतभन्दा धेरै थियो। दोस्रो त्रैमासमा केहि बैंकहरुले खराब कर्जामा सुधार गरेको कारण पहिलो त्रैमासको तुलनामा खराब कर्जा केहि घटेको देखिएको छ तर गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा अहिले खराब कर्जा झण्डै ४० प्रतिशतले बढेको तथ्याँकले देखाउछ।
औसत खराब कर्जा २.३४ प्रतिशत रहेको थियो। तर चालु आर्थिक वर्षको सोहि अवधिमा बैंकहरुको औसत खराब कर्जा ३.२७ प्रतिशत रहेको छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा सिद्धार्थ बैंक, नबिल बैंक र कृषि विकास बैंक बाहेक अन्य सबै बैंकको खराब कर्जा बढेको छ। गत वर्षको यसै अवधिमा कृषि विकास बैंकको मात्रै खराब कर्जा ४ प्रतिशत माथि थियो भने अन्य सबै बैंकको खराब कर्जा ४ प्रतिशत तल नै थियो।
पहिलो त्रैमासको तुलनामा भने बैंकहरुको खराब कर्जा थोरै घटेको देखिन्छ। पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा ३.४० प्रतिशत रहेकोमा दोस्रो त्रैमासमा ०.१३ प्रतिशत विन्दुले घटेर ३.२७ प्रतिशतमा झरेको छ।



