चितवन, माघ ५ गते । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व संकलन गरेको छ । राजस्व विभागले छ महिनाका लागि १३ अर्ब छ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म आठ अर्ब ७८ करोड ९३ लाख ७६ हजार संकलन भएको जनाएको छ ।
गत आवको यही अवधिमा आठ अर्ब ७८ करोड ५१ लाख ९३ हजार अर्थात् लक्ष्यको ७५ प्रतिशत राजस्व संकलन भएको थियो । सो वर्ष छ महिनाका लागि ११ अर्ब ६५ करोड ८० लाख ९८ हजार लक्ष्य विभागले तोकेको थियो । कार्यालयका प्रमुख निरन भट्टराईका अनुसार छ महिनामा आयकरतर्फ एक अर्ब २० करोड ९२ लाख एक हजार, अन्तः शुल्कतर्फ छ अर्ब ६५ करोड २६ लाख ५४ हजार राजस्व संकलन भएको छ ।



