काठमाडौँ — चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर) मा ३ अर्ब ९२ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको छ । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा यस वर्षको सोही अवधिमा नेपाल भित्रिएको विदेशी लगानी ३ अर्ब ३१ करोड रुपैयाँले बढी हो ।
गत वर्षको मंसिरसम्म ६० करोड ४९ लाख रुपैयाँ मात्र विदेशी लगानी भित्रिएको थियो । गत आर्थिक वर्षको सुरुमै पोखरा मणिपाल कलेजबाट विदेशी लगानी फिर्ता भएपछि त्यस वर्ष सबै महिनामा खुद विदेशी लगानीको वृद्धि राम्रो हुन सकेन । तर चालु आर्थिक वर्षको सुरुदेखि नै विदेशी लगानीमा सुधार देखिएको छ ।


