बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेको वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् ।
गत आर्थिक वर्षको साधारण सभामा अझै ६ वटा वाणिज्य बैंकले बिग मर्जरलाई प्राथमिकतामा नै राखेका छन्। तिनीहरुले उपयुक्त पार्टनर भेटेमा मर्जर गर्ने बताउँदै सो प्रक्रिया अगाडि बढाउने जिम्मा सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव साधारण सभामा राखेका छन्।
प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकले आफ्नो साधारण सभाको सूचनामा मर्जर तथा एक्विजिसनको एजेन्डा राख्दै यसको अख्तियारी बैंकको सञ्चालक समितिलाई दिने प्रस्ताव राखेका छन। प्राइम, एनएमबी, सिद्धार्थ, सिटिजन्स र माछापुच्छ्रे बैंकले ख र ग वर्गका विकास बैंक र फाइनान्सलाई आफूमा गाभे पनि समकक्षी क वर्गका बैंकहरुसँग मर्जरमा गएका छैनन। भारतको एसबीआई बैंकको लगानी रहेको नेपाल एसबीआई बैकले भने एफपीओ निष्काशन गरेर आफ्नो पुँजी ८ अर्ब पुर्याएको थियो। मर्जरमा जाने एजेन्डा राखेका ६ वाणिज्य बैंकमध्ये प्राइम कमर्सियल बैंक र एनएमबी बैंकले गत वर्षको नाफाबाट यस पटक कुनै लाभांश बाँडेनन। सिटिजन्स बैंक र सिद्धार्थ बैंकले क्रमशः ५.७९ प्रतिशत र ४.२१ प्रतिशत नगद लाभांश बाँडेका छन्। नेपाल एसबीआई बैंकले ३.७५ प्रतिशत बोनस शेयर र ६.८ प्रतिशत नगद लाभांश गरेर १०.५५ प्रतिशत लाभांश दिएको थियो भने माछापुच्छ्रे बैंकले १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद लाभांश गरेर १४ प्रतिशत लाभांश दिएको थियो। माछापुच्छ्रेले अघिल्लो वर्ष लगानीकर्ताको हात खाली गरेको थियो।



