काठमाडौँ । नेपालमा पेप्सी, मिरिन्डा, सेभेन अप, माउण्टेन ड्यू, स्लाइस, स्टिङ इनर्जी ड्रिंक, एभरभेस सोडा आदि उत्पादन गर्दै आएको कम्पनी हो, वरुण वेभरेज नेपाल प्रालि । भारतको हरियाणामा स्थायी ठेगाना भएको वरुण वेभरेजले नेपालमा पनि वरुण वेभरेज नेपालको नामबाट विभिन्न पेय पदार्थहरूको उत्पादन तथा बिक्री वितरण गर्ने गरेको छ ।
तर बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजले नेपालमा भने नक्कली भ्याट बिल खरिद तथा बिक्री गरी राज्यलाई करोडौँ रुपैयाँको कर छली गरेको पुष्टि भएको छ । उच्च अदालत पाटनले गत पुस ३ गते गरेको फैसलामा वरुण वेभरेजले सामान खरिद नै नगरी नक्कली भ्याट बिल मात्रै खरिद गरेर राज्यलाई करोडौँ रुपैयाँको कर छली गरेको ठहर गरेको हो ।



