काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुस) मा सरकारी खाता (वित्त) करिब साढे ४८ अर्ब रुपैयाँले घाटामा देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार पुस मसान्तसम्ममा पाँच खर्ब १८ अर्ब १५ करोड आम्दानी गरेको छ भने यो अवधिमा पाँच खर्ब ६६ अर्ब ६२ करोड खर्च भएको छ । यसमा पनि पुँजीगत खर्च भने करिब १६ प्रतिशत मात्र छ ।
आर्थिक वर्षमा कुल १४ खर्ब ७२ अर्ब ४८ करोड बराबर राजस्व उठाउने लक्ष्य राखेको सरकारले पुस मसान्तसम्म ४५ प्रतिशत अर्थात् ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । गत वर्षको यही अवधिमा भने सरकारको आम्दानी ३२.९५ प्रतिशत थियो । यो हिसाबले सामान्य सुधार भएको देखिए पनि गएको वर्ष भने नेपालको अर्थतन्त्रका लागि एक असाधारण वर्ष थियो । विदेशी मुद्राको सञ्चिति तीव्र रूपमा घटेकाले सरकारले आयातमा प्रतिबन्ध नै लगाएको थियो, जसका कारण राजस्व संकलन ५२ वर्षयताकै कम भएको थियो ।


