काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा एक वर्षमा थप नयाँ २० कम्पनी सूचीकृत भएका छन्। २०७९ मंसिरमा २ सय ४७ सूचीकृत कम्पनी रहेकोमा २०८० मंसिर मसान्तमा २ सय ६७ पुगेको छ। सूचीकृत कम्पनीमध्ये १ सय ३४ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् भने ८९ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ५ अन्य समूहका छन्।
सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६२.३ प्रतिशत रहेको छ। त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १३.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.० प्रतिशत, होटलको हिस्सा ३.२ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.३ प्रतिशत छ। नेपाल स्टक एक्सचेन्जमा २०८० मंसिर मसान्तमा सूचीकृत ७ अर्ब ९३ करोड रुपैयाँ सेयरको चुक्ता मूल्य ७ सय ८६ अर्ब २५ करोड रुपैयाँ रहेको छ।






