दुरुपयोग– १
जाजरकोटको भेरी नगरपालिका–१३ कुदुमा निर्माण भएको जैविक मल तथा जैविक विषादी उत्पादन उद्योग अलपत्र छ। प्रदेश सरकारको ५० लाख अनुदानमा कर्णाली बायोइनर्जी एन्ड अर्गानिक फर्टिलाइजर प्रालिको ५० लाख रुपैयाँ लगानीमा उक्त उद्योग स्थापना गरिएको थियो। भेरी नगरपालिकाले स्टमेटअनुसारको काम नभएको भन्दै कुल ५० लाख बजेटमा ४२ लाख रुपैयाँ मात्र भुक्तानी दिएको छ। उद्योग स्थापना भए पनि जैवीक मल तथा विषादी भने अझैं उत्पादन गर्न थालिएको छैन। आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रदेशले उक्त उद्योगलाई बजेट निकाशा दिएको थियो। बनेको संरचना जीर्ण बन्दै गएको छ।
दुरुपयोग– २
सल्यानमा सरकारी अनुदान पाएका कृषि फार्मले अनुदानको रकमबाट किनेका भैंसी बिक्री गरे। आर्थिक वर्ष २०७८/७९ मा पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट अनुदान पाएका शारदा नगरपालिका–५ मा रहेको छहरेखोला कृषि कम्पनी र सिद्धकुमाख गाउँपालिका–१ बाँझकाँडामा रहेको बस्नेत भैंसी फार्मले अनुदानको रकमबाट खरिद गरिएका भैंसी बिक्री गरेको थियो। पशु अस्पताल तथा पशुसेवा कार्यालयले भैंसीपालनका लागि भनेर रातामाटा छहरेखोला कृषि कम्पनी प्रालिलाई २० लाख रुपैयाँ अनुदान दियो। त्यतिबेला गोठ बनाएर ४७ वटा भैंसी पालन गरिएको थियो। तर, अहिले गोठ रित्तै छ।



