बनियानी । झापामा सहकारीमार्फत ७० अर्ब रुपैयाँभन्दा बढी पुँजी परिचालन भएको छ । झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ ।
“सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ”, उनले भने, “यसले स्वरोजगार सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।”
सहकारीमार्फत परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दूध उत्पादन, वैकल्पिक ऊर्जालगायतका क्षेत्रमा लगानी भएको अध्यक्ष ढकालले बताए । पछिल्लो समयमा झापाका सहकारीमा ऋण असुलीमा समस्या देखिएको छ । सहकारीबाट लिएको ऋण तिर्न आनाकानी गर्दा सहकारी संस्थाको ऋण असुलीमा समस्या देखिएको हो ।



