काठमाडौं : जापानमा शक्तिशाली भूकम्पले जनधनको ठूलो क्षति हुँदा पनि सेयर बजारको उकालो यात्रा भने जारी रहेको छ । जापानको निक्के २२५ सूचक बिहीबार सन् १९९० को फेब्रुअरी महिनायताकै उच्च विन्दुमा पुगेको छ । बैंक अफ जापानले ब्याजदर बढाउने सम्भावना न्यून बन्दै गएको र कमजोर येनले निर्यातकर्ताहरु पनि उत्साहित बनेपछि सेयर बजारले भूकम्पको असरलाई पनि पचाएको हो ।
निक्के सूचक बिहीबार सन् १९९० को फेब्रुअरी महिनायता पहिलो पटक ३५,००० विन्दु पार गरेर बन्द भएको रोयटर्सले उल्लेख गरेको छ । यो सूचक बिहीबार इन्ट्रा डे कारोबारमा ३५,१४५ विन्दुसम्म पुगेको थियो । शक्तिशाली भूकम्प र कमजोर ज्याला वृद्धिको तथ्यांकका कारण बैंक अफ जापानले आफ्नो मौद्रिक नीतिलाई सहज बनाउने बजार सहभागीहरुले मूल्यांकन गर्न थालेका छन् ।



