सामान्यतः सेयरको अंकित वा वास्तविक मूल्यभन्दा बढी लिइने मूल्य नै प्रिमियम हो, तर कानुनी परिभाषाअनुसार प्रिमियम भन्नाले धितोपत्रको अंकित मूल्यभन्दा बढी मूल्य सम्झनुपर्छ । कानुनतः वास्तविक मूल्य (बुक भ्यालु अर्थात् किताबी मूल्य) ५० रुपैयाँ रहेको कम्पनीको सेयर अंकित मूल्य १ सय रुपैयाँमा जारी गरिएको अवस्थालाई प्रिमियम मानिँदैन । कानुनले जसरी परिभाषित गरे पनि प्रचलित वा यथार्थ वा तोकिएको मूल्यमा थप मूल्यलाई प्रिमियम मानिनुपर्छ ।
सामान्यतः थप वा बढी मूल्यमा वस्तु तथा सेवा किनबेच अवैध हुन सक्छ, धितोपत्रको सन्दर्भमा तोकिएको आधार पूरा गरेका कम्पनीले तोकिएको विधिबाट निर्धारित थप मूल्यमा सेयर जारी (निष्कासन) गर्न सकिने कानुनी मार्ग दिइएको छ । यही थप मूल्यले कम्पनीहरू प्रिमियममा सेयर जारी गर्न लालायित वा प्रोत्साहित देखिन्छन् । हालै घोराही सिमेन्ट इन्डस्ट्री लि., सोना सिमेन्ट, माण्डु हाइड्रोपावर लि., भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि., सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लि., रिलायन्स नेपाल लाइफ इन्स्योरेन्स लि., आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लि., सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि., हिमालयन इन्स्योरेन्स लि.ले प्रिमियममा सेयर जारी गरेका छन् ।



