काठमाडौं : खाद्य तथा पेय पदार्थ सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी इण्डुज फुड टेक सोमबारबाट भारतीय सहर ग्रेटर नोयडामा सुरु भएको छ । खानेकुरा तथा पेय पदार्थ सम्बन्धी यो प्रदर्शनी दक्षिण एसियाकै सबैभन्दा ठूलो कार्यक्रम हो । भारतसहित दक्षिण एसियाली राष्ट्रहरुलाई अन्तर्राष्ट्रिय फुड चेनमा जोड्ने उद्देश्यले आयोजना हुँदै आएको इण्डुज फुड टेकमा नेपालको तर्फबाट ४५ जना उद्यमीको सहभागिता छ ।
यस्तै, उद्योग वाणिज्य महासंघको उपाध्यक्ष हेमराज ढकालसहित उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र कोषाध्यक्ष निरक केसीको समेत उपस्थिति छ । प्रदर्शनीमा अलैंची, डेरी, कफी, हर्व्स एण्ड हर्वल लगायतका विभिन्न ७ स्टल समेत राखिएको छ । यसबाहेक अन्य नेपाली कम्पनीहरुको पनि सहभागिता रहेको छ । प्रदर्शनीमा नेपाली कफी, चिया, जडीबुटी, खाद्य प्रशोधन, खाद्यान्न उत्पादन लगायतका स्टलहरु छन् ।



