काठमाडौँ — बैंकहरूबीचको सापटी दर (अन्तरबैंक ब्याजदर) तीन प्रतिशतभन्दा तल जान नदिन नेपाल राष्ट्र बैंकले बजारबाट धमाधम पैसा तानिरहेको छ । ब्याजदरलाई स्थायित्व दिन भन्दै पछिल्लो डेढ महिनामा राष्ट्र बैंकले निक्षेप संकलन उपकरणबाट मात्र २ खर्ब ८२ रुपैयाँभन्दा बढी तानिसकेको छ ।
केन्द्रीय बैंकले तरलता व्यवस्थापनमा प्रयोग गर्ने अल्पकालिन उपकरण हो, निक्षेप संकलन । यिनको परिपक्व अवधि थोरै हुन्छ । यसकारण पछिल्लो डेढ महिनामा निक्षेप संकलनमार्फत पौने ३ खर्ब रुपैयाँ बजारबाट ताने पनि सोमबारसम्म करिब ७५ अर्ब रुपैयाँ मात्र लगानीमा (आउटस्ट्यान्डिङ) रहेको राष्ट्र बैंकले जनाएको छ ।


