२३ पुस, गलेश्वर (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ ।
राखुगाउँका एउटै किसानले पाँच लाखदेखि नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी गरेका छन् । राखुकी मनकुमारी पुनले यस वर्ष नौ लाखको सुन्तला बिक्री भएको बताइन् । उनले विगत डेढ दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाको बिरुवा उत्पादन गर्दै आएकी छन् ।



