काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले प्रदेशमा निक्षेपको आधा पनि कर्जा विस्तार गर्न सकेका छैनन् । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशगत प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा कर्जा विस्तारमा संकुचन आएको छ ।
कर्णाली प्रदेशमा २०७९–८० को असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ११.८९ प्रतिशतले बढ्दा कर्जा प्रवाह भने ५.४७ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप ६७ अर्ब ४९ करोड ९१ लाख पुगेको छ । गत वर्ष निक्षेप ५.४३ प्रतिशतले बढेर ६० अर्ब ३२ करोड ७८ लाख रुपैयाँ पुगेको थियो ।
समीक्षा वर्षमा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा ५.४७ प्रतिशतले वृद्धि भई ५७ अर्ब ९३ करोड ६७ लाख पुगेको प्रतिवेदनमा उल्लेख छ । गत वर्षमा कर्जा ७.०१ प्रतिशतले बढेर ५४ अर्ब ९२ करोड ९४ लाख रुपैयाँ पुगेको थियो ।



