काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालमा धान उत्पादन बढेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा धानको उत्पादन चार दशमलव ३३ प्रतिशतले बढेर ५७ लाख २४ हजार मेट्रिक टन पुगेको अनुमान गरेको हो । यो पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव शून्य आठ प्रतिशतले बढी हो ।
धान उत्पादन बढे पनि धान लगाउने जमिन भने घटेको मन्त्रालयले जनाएको छ । धान लगाएको क्षेत्रफल गएको आर्थिक वर्षको तुलनामा यो वर्ष शून्य दशमलव ६१ प्रतिशतले कमी आई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम भएको मन्त्रालयले जनाएको छ । धानबालीको औसत उत्पादकत्व गएको वर्षको तुलनामा झन्डै पाँच प्रतिशतले बढेर तीन दशमलव ९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ ।



