काठमाडौं : एप्पललाई पछि पार्दै बिल गेट्सले सुरुवात गरेको कम्पनी माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्ने तयारीमा देखिएको छ । ‘कम्पनिज मार्केट क्याप’ को तथ्याङ अनुसार हाल एप्पलको कुल बजार पुँजीकरण २८.६५ खर्ब डलर रहँदा माइक्रोसफ्टको कुल बजार पुँजीकरण २७.५४ खर्ब डलर रहेको छ ।
हाल यी दुई शीर्ष कम्पनीहरुको कुल बजार पुँजीकरणको अन्तर १ खर्ब ११ अर्ब डलरको मात्र रहेको छ । जबकी ६ महिना अगाडि यी दुई कम्पनीहरुको कुल बजार पुँजीकरणबीचको अन्तर ५ खर्ब डलर रहेको थियो । सन् २०२३ जुलाई १ मा एप्पलको कुल बजार पुँजीकरण ३०.५० खर्ब डलर हुँदा माइक्रोसफ्टको कुल बजार पुँजीकरण २५.३२ खर्ब डलर रहेको थियो ।



