नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरुको लगानी निर्देशन संशोधन गर्दै लगानी गर्ने कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतसम्म लगानी गर्न सकिने व्यवस्था गरेको छ । संशोधन अघि लगानी गर्ने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतमात्रै शेयर किन्न पाउने व्यवस्था थियो । बिमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले लगानी विविधिकरणको साथै दायरा फराकिलो बनाउने निर्देशिका संशोधन गरिएको बताए ।
बीमा कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको शेयरमा लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशत लगानी गर्न सकिने व्यवस्था गरेको हो । पब्लिक कम्पनीको शेयरको साथै बीमा कम्पनीले अब प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल फन्डमा पनि लगानी गर्न पाउने भएको छ। नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन, लघु जीवन, लघु निर्जीवन र पुनर्बीमा कम्पनीले प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने गरी लगानी निर्देशिका संशोधन गरेको हो ।



