काठमाडौं। आर्थिक गतिविधिमा कमी आउँदा प्रभावित बनेको बीमा कम्पनीहरूको व्यवसायमा सुधार देखिन थालेको छ । चालू आर्थिक वर्ष (आव) का अघिल्ला महीनाहरूमा ओरालो लागेको जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय मङ्सिरमा वृद्धि भएको हो ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालू आवको मङ्सिरमा जीवन बीमा कम्पनीहरूले प्रथम बीमा शुल्क र नवीकरणबाट कुल १२ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कात्तिकमा उनीहरूले ८ अर्ब ६३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । यसैगरी चालू वर्षको मङ्सिरसम्ममा भने जीवन बीमा कम्पनीहरूले कुल ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् ।



