हिले, पुस १९ गते । आर्थिक सङ्कटका कारण कच्चा पदार्थ अभाव भएपछि धनकुटामा रहेको एक मात्रै ठुलो उद्योग निगाले सिमेन्ट उद्योग बन्द भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवाँमा रहेको सिमेन्ट उद्योग बन्द भएको हो । दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको यो उद्योगले पछिल्लो समय तीन हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दै आएको थियो ।
उत्पादन ठप्प भएपछि उद्योगका १५० जनाभन्दा बढी कर्मचारी बेरोजगार बनेका छन् । आर्थिक सङ्कटकै कारण उद्योगले दैनिक लाखौँ रुपियाँ घाटासमेत बेहोर्नु परेको छ । उद्योग गलत ठाउँमा खुलेका कारण सुरुदेखि नै तीन टन उत्पादन क्षमता रहेको उद्योगले दैनिक १५० टन मात्रै उत्पादन गर्दै आएको कर्मचारी सरोज सेढाईले जानकारी दिनुभयो ।



