काठमाडौं : नेपाल स्टक एक्सचेन्जले सञ्चालन गरिरहेको सेयरको अनलाइन कारोबार गर्ने प्रणाली जोखिमपूर्ण रहेको पाइएको छ। सञ्चालनमा रहेको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) र नेप्से अनलाइन कारोबार प्रणाली (नट्स) विभिन्न ७ कारणले जोखिममा रहेको अध्ययनको ठहर छ।
नेपाल धितोपत्र बोर्डले गरेको अध्ययन प्रतिवेदनको संक्षिप्त विवरणअनुसार नेपाल स्टक एक्सचेन्जको सूचना प्रविधिसँग सम्बन्धित स्थलगत निरीक्षण गर्दा सूचना प्रविधि सुशासनमा गम्भीर समस्या पाइएको हो। विशेषगरी अनधिकृत व्यक्तिले कारोबारको विवरण सजिलै हेरफेर गर्न सक्ने र मूल्यलाई सोहीअनुसार तोडमोड गर्न सक्ने अध्ययनको ठहर छ।



