पर्सा — वीरगन्ज उद्योग वाणिज्य संघले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगमा पुनः विद्युत् लाइन जोडिदिन माग गरेको छ ।
संघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष अनिलकुमार अग्रवालले उद्योगहरूको विद्युत् लाइन काटिएका कारण मुलुकभरि भइरहेको भौतिक पूर्वाधार निर्माणलगायत कामसमेत अवरुद्ध भइरहेकाले उद्योगहरूमा बिजुली आपूर्ति गरिनुपर्ने माग गरे ।
‘यसो नगरे मन्दीको मारले थलिएका उद्योग सधैंका लागि बन्द हुन सक्छ । तिनमा कार्यरत २० देखि २५ हजार श्रमिकले रोजगारी गुमाउने दिन टाढा छैन,’ उनले भने, ‘उद्योगमा लगानी गरेका बैंकसमेत समस्यामा पर्छन् । अर्थतन्त्रमा पनि गम्भीर नकारात्मक असर पर्न जाने निश्चित छ ।’


