काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले सात अर्ब भनदा बढी निकासा गरेको छ । चालू आवको साउनदेखि मंसिर मसान्तसम्ममा सरकारले चार अर्ब ७६ करोड बराबर रकमान्तर र सात अर्ब ६४ करोड बराबर थप निकासा गरेको हो ।
अर्थ मन्त्रालयका अनुसार यस अवधिमा विभिन्न आठ वटा आयोजना तथा कार्यक्रमका लागि सात अर्ब ६४ करोड ४८ लाख रुपैयाँ बराबरको स्रोतका निम्ति सहमति दिइएकोे छ । पाँच महिनाको आर्थिक सहायता, थप निकासा, रकमान्तर र स्रोत सहमतिसम्बन्धी विवरणअनुसार अर्थ विविध शीर्षकमा पछिल्लो पाँच महिना अवधिमा दुई अर्ब एक करोड चार लाख ९४ हजार निकासा भएको छ । यो शीर्षकबाट गत भदौमा ६ लाख ९९ हजार सात सय ८० र असोज महिनामा एक करोड ६८ लाख ६८ हजार चार सय ९० निकासा भएको छ ।



