काठमाडौं– गत वर्षको तुलनामा यो वर्ष कर्जा विस्तारमा सुधार देखिए पनि यसको गति धीमा देखिएको छ । कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न सकेको छैन । चालु आवको कात्तिकसम्म कर्जा विस्तार २.१ प्रतिशतले बढेको छ । यो अपेक्षा गरेअनुरुप होइन । तैपनि अघिल्लो वर्षको सोही अवधिभन्दा कर्जा विस्तार केही बढेको छ । अघिल्लो वर्ष कात्तिकसम्ममा कर्जा १.५ प्रतिशतले बढेको थियो । अहिले कर्जा विस्तारमा झिनो सुधार देखिए पनि सन्तोषजनक नरहेको जानकारहरु बताउँछन् ।
पछिल्ला दिनमा ब्याजदर घट्दो क्रममा छ । तर, कर्जाको मागमा उल्लेख्य सुधार हुन सकेको छैन । राष्ट्र बैंकको पुस पाँचसम्मको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ६० खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । कर्जा प्रवाह भने ५० खर्ब ५ अर्ब रुपैयाँमात्र भएको छ ।



