नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको मुद्दामा सोमबार सर्वोच्चमा सुनुवाई हुने भएको छ । पटक पटक पेशी तोकिए पनि हेर्न नभ्याइने, हेर्न नमिल्ने तथा स्थगित हुँदै आएको यस मुद्दाको पेशी २०८० पुस १६ गते सोमबारलाई तोकिएको छ ।
जनार्दन शर्मा अर्थमन्त्री हुँदा २०७९ वैशाखमा सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै गभर्नर अधिकारीले २०७९ वैशाख ५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। यस मुद्दामा २०७९ बैशाख ६ गते न्यायधिश हरि प्रसाद फुयालको एकल इजलाशले गभर्नरलाई निलम्बन गर्ने निर्णयबारे कारण देखाउ आदेश जारी गर्दै अल्पकालिन अन्तरिम आदेश जारी गरि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । सोहि इजलाशले निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।


