काठमाडौँ — डेडिकेटेड र ट्रंकलाइनको बक्यौता भुक्तानीका लागि बिल काटेको सबै महसुल असुल्ने अडानमा नेपाल विद्युत् प्राधिकरण देखिएको छ । आफूहरू यससम्बन्धी सबै बक्यौता उठाउने गरी अघि बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
०७२ साउनदेखि ०७२ पुससम्म र लोडसेडिङ अन्त्य भएपछिको अवधिमा महसुल लिने कि नलिने नियामक निकायले निर्णय गरिदिनुपर्ने उनले बताए । प्राधिकरणले विगतमा डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई अड्डा अदालत जानुअघि पुनरावलोकन प्रक्रियामा आउन आग्रह गरेको छ । ‘महसुल उठाउनैपर्ने र राजस्वमा छुट दिन नसकिने भएकाले पुनरावलोकन प्रक्रियामा आउन र किस्ताबन्दीमा तिर्न अवसर दिन सकिन्छ,’ बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले भने । पुनरावलोकनमा जानुअघि शतप्रतिशत धरौटी राख्नुपर्ने भए पनि अहिले २५ प्रतिशत मात्रै राख्ने व्यवस्था गरिएको उनको भनाइ छ ।


