२०८० वैशाख २ गते मिडिया अलाइन्स, मिडिया सोसाइटीलगायतका मिडिया सञ्चालकहरूले २०८०–८१ को बजेटमा समावेश गरिनुपर्ने विभिन्न सुझाव तथा मागहरूसहित प्रधानमन्त्रीसँग भेटघाट गरे। प्रधानमन्त्रीले निकै राम्रो सत्कार गरे। तर, दु:खको कुरा, बजेटमा एउटा पनि सम्बोधन भएन। मिडिया सञ्चालकहरू प्रधानमन्त्री कार्यालयको चिया बिस्कुटको आतिथ्य र चिनी–कुराकानीमै चित्त बुझाउन बाध्य भए। यसमा प्रधानमन्त्रीले जोड नगरेको हो कि, अर्थमन्त्रीले नमानेका हुन् भन्ने मिडिया सञ्चालकले पत्तो लगाउन सकेनन्।
गत वर्ष अर्थतन्त्रमा करिब १२–१५ गोष्ठी–कार्यक्रम त मूलधारका मिडिया मात्रले गरेका रहेछन्। प्राय: मिडियाले अर्थतन्त्रलाई विभिन्न डिजाइनमा पेस गरेका नै छन्। न राष्ट्रद्वारा अर्थतन्त्रसम्बन्धी विशेष प्रशिक्षण, न खासै स्रोतसाधन, आर्थिक पत्रकारहरूले जे गरिरहेका छन्, सराह्रनीय छ। केही वर्षयता प्रेस विज्ञप्ति, अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोगभन्दा बाहेक पनि आर्थिक समाचार उच्च तहमा पुगेको देखिन्छ। देशका आर्थिक मुद्दाहरूको राम्रो उठान भएको देख्न सकिन्छ।



