राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा सार्वजनिक लेखा समिति सदस्य हरि ढकालले प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिने क्रम बन्द गर्न माग गरेका छन् । आज बसेको लेखा समितिको बैठकमा सांसद ढकालले प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिंदा धेरै बदमासी भएको भन्दै अब प्रिमियममा आईपीओ बन्द गरेर प्रिमियममा जान चाहनेलाई बुक विल्डिङ विधिबाट आईपीओ निष्काशनको अनुमति दिने व्यवस्था गर्न माग गरेका हुन् ।
उनले हिमालयन रि इन्स्योरेन्स सहित ५ वटा बीमा कम्पनीलाई बीमा ऐनमा भएको व्यवस्थाको बर्खिलाप प्रिमियममा आईपीओ ल्याउन अनुमति दिएको दाबी गरे । उनले रेटिंग कम्पनीसँग सेटिंग गरेर, हुँदै नभएको नाफालाई कागजमा मात्र नाफा देखाएर आईपीओ ल्याउने काम भएको बताए । कम्पनीका कुर्सि टेबल र जिन्सी सामानलाई समेत जोडेर कागजमा मात्र नाफा देखाएको उनको आरोप थियो ।


