साधारणतया जनताबाट सरकारलाई प्राप्त हुने आयलाई नै हामी सार्वजनिक आय भन्छौं । आर्थिक, सामाजिक तथा अन्य प्रकारका आफ्ना कार्यहरूलाई सुचारु रूपले सञ्चालनका लागि प्रत्येक देशको सरकारलाई निकै मात्रामा धनको आवश्यकता हुन्छ, जुन सार्वजनिक आयका विभिन्न साधनद्वारा प्राप्त गरिन्छ । सरकारले विभिन्न साधनबाट जुन आय प्राप्त गर्छ, त्यसलाई सार्वजनिक आय भनिन्छ ।
आधुनिक कालमा सरकारी क्रियाकलापहरूले देशको आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ । सरकारी क्रियाकलाप भनेको आज शान्ति–सुरक्षा कायम गर्नु र नियम–कानुन पालन गर्न लगाउनु मात्र होइन । आर्थिक र सामाजिक क्षेत्रमा सरकारले जतिजति जनचेतनाको वृद्धि गर्दै लैजान्छ, यसका वैकल्पिक कामहरू पनि त्यति नै वृद्धि हुँदै जान्छन् । वर्तमान युगमा सरकारी कर र खर्च नीतिले निजी वितरण प्रणालीमा समेत पूर्ण रूपमा प्रभाव पारेको छ । कुनै पनि देशमा जे–जति कार्य सरकारले गर्नेछ, ती कार्य सञ्चालन गर्न सरकारले आम्दानी गर्नुपर्छ । सरकारले जबसम्म आम्दानी गर्न सक्दैन, उसले खर्च पनि गर्न सक्दैन ।



