भेरीगंगा (सुर्खेत) — दैलेख गुराँस गाउँपालिका–८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब पाँच लाख कमाए । उनले बारीमा आलु, काउली र टमाटर लगाएका छन् । यही तरकारी बेचेरै उनले मनग्य आम्दानी गरेका छन् । तरकारी बेचेरै घरखर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गरेको उनले सुनाए ।
'हाम्रो यो टोलमा तरकारी उत्पादन धेरै हुन्छ, हामी फागुनमा आलु लगाउँछौँ असार साउनमा निकाल्छौँ । आलुसँगै काउली बन्दा, टमाटर पनि चैत–वैशाखदेखि नै लगाउँछौँ । अनि वर्षायाममा हुने भएकाले राम्रै फल्छ र बजार पाए आम्दानी पनि हुन्छ,' उनले भने । उनले यो वर्ष करिब पाँच लाख रुपैयाँ भन्दा बढी कआम्दानी गरेको सुनाए । 'मेरो भएको जग्गाको अधिकांश बारीमा तरकारी लगाउने गरेको छु । केही नभए पनि एक याममा रु तीन–चार लाख त प्रत्येक घरकाले कमाउँछन् । तर हामीलाई उत्पादन गरेको तरकारी बजारसम्म पुर्याउन समस्या छ ।'


