दुई वर्ष लामो उकुसमुकुसपछि मुलुकको अर्थतन्त्र सहज अवतरणको दिशातर्फ सोझिएको छ । अर्थतन्त्रका बृहत् सूचकहरूले देखाउँछन्, अप्ठ्यारो परिस्थिति मत्थर हुने क्रममा छ । अर्थतन्त्र विस्तार हुन अवरोध बनेका नीति र नियामकीय प्रावधानमा पछिल्ला समय भएका परिमार्जनले नतिजा देखाउन थाल्दा सुधारको सङ्केत सानै हिस्सामा भए पनि प्रतिविम्बित हुन थालेको छ । अर्थतन्त्र सुधारको अहिलेको गति धिमा छ तर उकालो लाग्ने क्रममा छ ।
अर्थतन्त्रप्रतिको अत्यधिक चिन्ता र चासोको वर्तमान अवस्थाको क्रमिकता भने कोरोनासँग जोडिन्छ । कोरोना कालमा अत्यन्त सहज बनाइएको कर्जा विस्तारले बढाएको आयात, घरजग्गा र सेयर बजारमा देखिएको अस्वाभाविक वृद्धि र बढ्दो खराब कर्जाले मन्दीको आधार तयार गरेको हो । त्यसमाथि विभिन्न देशबिच बढ्दो तनाव र युद्धले विश्व अर्थतन्त्रमा पारेको प्रभावले मुलुकको बाह्य क्षेत्रसमेत आक्रान्त बन्न पुग्यो । यी दुई परिस्थितिको परिणाम मुलुकले पछिल्लो दुई वर्षमा नराम्रोसँग भोग्नुपर्यो ।



