वीरगन्ज, बुटवल, बाँके, हेटौंडा र काठमाडौं — ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईको समूहले देशका प्रमुख सहरमा सहकारी खोली बचतकर्तालाई बिचल्लीमा पारेको छ । वीरगन्जमा सानो पाइला, बुटवलमा सुप्रिम, नेपालगन्जमा समानता र काठमाडौंमा स्वर्णलक्ष्मी नाम राखेर दसौं हजार सर्वसाधारणबाट बचत संकलन गरिए पनि सबैको नियति पोखराको सूर्यदर्शन र चितवनको साहाराको जस्तै भएको छ ।
काठमाडौंको कालीमाटीमा मुख्य कार्यालय स्थापना गरेर महाराजगन्ज, न्युरोडलगायत क्षेत्रमा शाखा सञ्चालन गरिरहेको स्वर्णलक्ष्मी सहकारीले दुई वर्षयता बचत फिर्ता दिएको छैन । यस सहकारीको नाममा बचतकर्ताबाट उजुरी आइरहेको सहकारी विभागको भनाइ छ । तर यो सहकारी बागमती प्रदेशको कार्यक्षेत्रभित्र रहेकाले उजुरीहरू प्रदेशतर्फ पठाइएको सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले बताए ।


