पोखरा । पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामा आर्थिक अपचलनमा संलग्नसँग झन्डै ३२ करोड रुपैयाँ बिगो असुल गर्ने तयारी भएको छ । सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सजाय र बिगो माग दाबीसहित अनुसन्धान फाइल जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ ।
लामो समयको अनुसन्धानपछि दायर अनुसन्धान फाइलमा ३२ जनाविरुद्ध कुल ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो मागदाबी गरिएको हो । सो रकम विज्ञ प्रतिवेदनबाट खुलेको बिगो मागभन्दा केही रकम थपेर प्रहरीले माग दाबी पेस गरेको छ । विज्ञ प्रतिवेदनमा ३ हजार ४ सय ४६ जना पीडितको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएको खुलेको थियो ।



