मिना गिरी काठमाडौंका गल्ली डुलेर साग बेच्छिन्। तीन छोरीकी आमा उनले रहर मार्दै उनीहरूको शिक्षाका लागि सहकारीमा पैसा जम्मा गरेकी थिइन्। सय-सय रूपैयाँ गर्दै जम्मा गरेको पैसा अहिले सहकारीले फिर्ता दिन सकेको छैन।
मिना जस्तै पेट काटेर जोगाउने हजारौंको पैसा सहकारीमा चलाउने टाठाबाठाले हिनामिना गरेका छन्।
तीमध्ये एक हुन् भरत महर्जन। सहकारीको चार अर्ब रूपैयाँभन्दा बढी पैसा आफ्ना निजी कम्पनीमा लगानी गरेर उनी पत्नीसहित बेलायत 'भागेका' छन्।
अर्का सहकारी सञ्चालक केदारनाथ शर्माले दुई सहकारीको १२ अर्ब ३१ करोड हिनामिना गरेर नेपाल, भारत र म्यानमारसम्म आफ्ना निजी कम्पनी विस्तार गरेका छन्।



