सुर्खेत । कर्णाली प्रदेश सरकारको विकास बजेट कार्यान्वयनको गति निकै सुस्त देखिएको छ । विगतका वर्षहरू जस्तै चालु आर्थिक वर्षमा पनि सरकारले विकास बजेट कार्यान्वयनको गति बढाउन नसकेको हो ।
चालु आर्थिक वर्षको पाँच महिनामा कुल विकास बजेटको जम्मा ४.९४ प्रतिशत मात्रै कार्यान्वयनमा आएको छ । जुन विगतको तुलनामा निकै कमजोर हो । गत आर्थिक वर्ष (०७९÷०८०) को मङ्सिर मसान्तसम्म ६.७४ प्रतिशत बजेट कार्यान्वयनमा आएको थियो । अघिल्लो आर्थिक वर्ष चुनावी समय भए पनि विकास बजेट कार्यान्वयनमा सरकारी निकायहरू अग्रसर थिए । यद्यपि चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन सुधार आउनुको साटो अझ कमजोर बन्यो ।



