नेपाल विद्युत प्राधिकरणले बक्यौता विवादमा परेका उद्योगको लाइन कटौती अभियान अन्तर्गत शुक्रबार चार ठूला उद्योगको विद्युत काट्यो।
जगदम्बा स्टिल्स, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगमा प्राधिकरणले बिजुली आपूर्ति बन्द गरेको हो। योसँगै यी उद्योगको उत्पादन रोकिएको छ।
यी चार उद्योगले ट्रंक र डेडिकेटेड लाइनको लामो समयदेखि महसुल नतिरेको प्राधिकरणले बताएको छ।
उद्योगीहरूले भने आफूहरूकहाँ बिजुलीको फर्जी बिल पठाइएको र उक्त बिलको महसुल नतिरेका कारण लाइन काटिएको गुनासो गरेका छन्। यसै विषयलाई लिएर निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आकस्मिक बैठक डाकेर अब के गर्ने भनेर योजना बनाउने तयारीमा छ।



