साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि सुरु भएको करेक्सनले यस दिन पनि निरन्तरता दिएको हो।
आइतबार नेप्से परिसूचक २१.०३ अंक घटेर २०८८.०७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१६ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब २७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको १ लाख २८ हजार ३५६ पटकको कारोबारमा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन एक दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन अन्य दुई स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने दुई स्टकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन ज्योति विकास बैंकको ऋणपत्र र नेपाल रिपब्लिक मिडियाको मूल्य १० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन हाथवे इन्भेष्टमेन्ट र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।



