वीरगञ्ज (पर्सा), पुस ६ गते । बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साले यो वर्ष गहुँबालीका लागि अहिले चाहिने डिएपी मल जिल्ला जिल्लामा पठाइएको र युरिया मल आउने क्रममा रहेकाले यो वर्ष गहुँखेतीको समयमा रासायनिक मलको अभाव नहुने जनाएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साका प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को मङ्सिर २७ गतेसम्म डिएपी १६ हजार २३ मेट्रिक टन र युरिया १९ हजार दुई सय ९९ मेट्रिक टन मल जिल्लाजिल्लालाई पठाइसकिएको छ ।



