नयाँ स्टक एक्सचेन्जको विषयमा के गर्ने भनेर लेखेको चिठीमा सम्बोधन उल्टो परेपछि धितोपत्र बोर्डले पुन: नयाँ चिठी लेख्ने भएको छ। तर बुधवार बसेको सञ्चालक समिति बैठकमा कुरा नमिलेपछि अर्को पटकको बैठकमा राख्ने सहमतिसँगै बैठक सकियो।
खासगरि धितोपत्र बोर्डलाई अर्थ समितिले नयाँ स्टकको प्रक्रिया अघि बढाउन भन्दै निर्देशन दिएको थियो। तर उक्त निर्देशनले मात्रै नपुग्ने भन्दै बोर्डले सरकारको समेत सहमति खोजेको थियो। जसको लागि पछिल्लो समय बोर्डले अर्थ मन्त्रालयलाई पत्र लेखेको थियो। तर उक्त पत्र अर्थ मन्त्रालयलाई नभएर नेपाल सरकार मन्त्रीपरिषदलाई सम्बोधन गरी लेख्न भन्दै पुन: अर्थ मन्त्रालयले सो पत्र बोर्ड नै फिर्ता पठाइ दिएको थियो। “हामीले नयाँ स्टकको विषय के गर्ने भनेर पत्र लेखेका थियौ। तर सम्बोधन उल्टो परेछ। लेख्नु पर्ने मन्त्रीपरिषदलाई रहेछ। हामीले अर्थ मन्त्रालयलाई सम्बोधन गरेका रहेछौ। सोही कारण अर्थले मन्त्रीपरिषदलाई सम्बोधन गरी लेख्न भनी फर्काएको छ” नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा बोर्ड सञ्चालक सुरकृष्ण वैधले मेरो लगानीसँग भने।



