अहिले बैंकिङ क्षेत्रमा अधिक तरलता, उच्च ब्याजदर, न्यून कर्जा प्रवाह तथा बढ्दो खराब कर्जाले टाउको दुःखाइ बनाएको छ । केन्द्रीय बैंकले ९० प्रतिशत सिडी रेसियो कायम गर्न सीमा तोकेकोमा हाल बैंकहरूको औसत सिडी रेसियो ८०.७६ प्रतिशतमा झरेको छ । यसले गर्दा बैंकिङ क्षेत्रमा करिब ५ खर्ब ५० अर्ब तरलता छ । तर, कर्जाको ब्याजदर महँगो भएकै कारण ऋण माग न्यून छ ।
अघिल्लो वर्ष निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेकोमा गत वर्ष यो वृद्धि ३.८ प्रतिशतमा सीमित भएको छ । अर्कातिर उच्च ब्याजदर, न्यून कर्जा प्रवाह र बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढ्दा बैंकहरूको नाफा करिब २८ प्रतिशतले खुम्चिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा केही बैंकहरूको खराब कर्जा त बढेर ५ प्रतिशतभन्दा पनि माथि पुगिसकेको छ । केन्द्रीय बैंकका अनुसार बैंकको खराब कर्जा ५ प्रतिशत नाघ्नुलाई राम्रो मानिँदैन ।



