काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीमा सबैभन्दा धेरै जलविद्युत्का छन् । हाल नेप्सेमा ८९ जलविद्युत् कम्पनी सूचीकृत छन् । आगामी दिनमा धितोपत्र बजारमा भित्रिन लागेका कम्पनीको संख्या हेर्दा पनि जलविद्युत् क्षेत्रकै वर्चस्व देखिन्छ ।
पछिल्ला वर्षहरूमा धितोपत्रको दोस्रो बजारमा भएको कारोबारको अवस्था हेर्दा लगानीकर्ताको आकर्षण जलविद्युुत् क्षेत्रका कम्पनीकै शेयरमा देखिन्छ । तर, यस क्षेत्रका कम्पनीको लाभांश वितरण स्थिति हेर्दा सूचीकृत ८९ कम्पनीमा हालसम्म सातओटाले मात्रै गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । धेरैजसो जलविद्युत् कम्पनीले लाभांशविना नै साधारणसभा बोलाएका छन् ।
सूचीकृत ८२ जलविद्युत् कम्पनीले लाभांश दिएका छैनन् । वित्तीय अवस्था सन्तोषजनक नभएका र लाभांशसमेत वितरण नगरेका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ता बढी आकर्षित हुनुलाई अर्थपूर्ण मानिएको छ ।






