बीमामा जोखिम शब्दले निकै महत्त्व राख्छ । जोखिम अर्थात् मानव जीवनमा दैनिक अनिश्चित घटना घट्ने गर्छ । यस्ता अनिश्चित घटनामा हुनसक्ने जोखिम जस्तै दुर्घटना, आगलागी, दैविक प्रकोप, चोरी, दंगा आदि धेरै कुरा हुन सक्छ । यी जोखिमका घटनाले आर्थिक हानिनोक्सानी हुनसक्छ । यस्ता घटना मानव जीवनमा कहिले घट्छ, कसरी घट्छ यसबाट के कति क्षति हुन्छ भन्ने निश्चित हुँदैन ।
अनिश्चित घटनाबाट आर्थिक एवं भौतिक, मानवीय सम्भावित हुन सक्ने क्षति वा हानिनोक्सानीलाई नै बीमाक्षेत्रमा जोखिम भन्ने गरिन्छ । यी जोखिम अर्थात् अनिश्चित घटनाबाट हुने आर्थिक क्षतिको राहत दिनका लागि बीमाको उत्पत्ति भएको मानिन्छ । बीमामा बीमा कम्पनीलाई सानो निश्चित रकमको बीमा शुल्क अर्थात् प्रिमियम तिरेबापत अनिश्चित ठूलो आर्थिक क्षतिको विरूद्ध सुरक्षा प्रदान गर्छ । बीमा एक प्रकार करार भएको हुँदा यहाँ एक पक्ष बीमा कम्पनी (बीमक)ले बीमितसँग बीमा शुल्क लिएबापत आर्थिक वा भौतिक क्षतिको दाबी भुक्तानी दिने प्रतिज्ञा गरेको हन्छ ।






