काठमाडौँ, पुस १ गते । कम्पनीहरू एकआपसमा गाभिँदा हुने लाभ (बार्गेन पर्चेज) र प्रिमियमसहित फर्दर पब्लिक अफरिङ (एफपिओ) को लाभबापत सरकारलाई शनिबार साँझसम्म १२ अर्ब ८१ करोड रुपियाँ राजस्व प्राप्त भएको छ । आन्तरिक राजस्व विभागका अनुसार करिब पाँच दर्जन कम्पनीले दुई दिनमा सो परिमाणको राजस्व सरकारलाई भुक्तान गरेका हुन् ।
सर्वोच्च अदालतले गत बिहीबार सो करविरुद्धको रिट खारेज गरिदिएपछि विशेष गरी बैङ्क, वित्तीय संस्था तथा बिमा कम्पनीले सो परिमाणको राजस्व बुझाएका हुन् । सरकारले सो शीर्षकबाट करिब १५ अर्ब रुपियाँ राजस्व सङ्कलन हुने आकलन गरेको थियो । मङ्सिर मसान्तभित्र कर भुक्तान गरेमा करमा छुट तथा सहुलियतको व्यवस्था हुने भएकाले शनिबार पनि यस्तो कर भुक्तान गरिएको हो ।






